जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन एकसय २६ ऋणीले अझै पाएनन् फिर्ता

जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन एकसय २६ ऋणीले अझै पाएनन् फिर्ता


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, १४ असार २०८३
  • 2.3K
    Shares

पोखरा, १४ असार २०८३।

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको धितोको सुन करिब एक वर्ष बित्न लाग्दा पनि सबै ऋणीले फिर्ता पाउन सकेका छैनन्।

बैंकले लुटिएको दिन कायम रहेको सुनको मूल्यका आधारमा क्षतिपूर्ति दिने निर्णय गरेपछि ऋणी र बैंकबीच विवाद उत्पन्न भएको हो। ऋणीहरूले भने हालको बजार मूल्यअनुसार सुन वा त्यस बराबरको रकम उपलब्ध गराउनुपर्ने माग गर्दै बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन्।

३८ करोड ४० लाख बराबरको नगद र सुन लुटिएको थियो

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको नगद र सुन लुटिएको थियो। बैंकका अनुसार लुटिएको सम्पत्तिमा १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद समावेश थियो।

उक्त शाखामा २२६ जना ऋणीले सुन धितो राखेर कर्जा लिएका थिए। तर, घटना भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि बाँकी ऋणीले आफ्नो धितोको सुन वा त्यस बराबरको रकम प्राप्त गर्न सकेका छैनन्। लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान र सुनको अवस्थाबारे हालसम्म कुनै ठोस जानकारी सार्वजनिक भएको छैन।

बीमा दाबीअनुसार मात्रै भुक्तानी

राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार धितोको सुनको बीमा नेको इन्स्योरेन्समा गरिएको थियो। बीमा कम्पनीले पनि घटना भएको दिनकै सुनको मूल्यका आधारमा मात्रै दाबी भुक्तानी गर्ने भएकाले सोही आधारमा ऋणीलाई रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए।

बैंकका अनुसार करिब एक सय ऋणीले बैंकले प्रस्ताव गरेको रकम बुझेर कर्जा राफसाफ गरिसकेका छन्। तर, अझै करिब १२६ जना ऋणीले भुक्तानी लिन बाँकी रहेको जनाएको छ।

बैंकले लुटिएको धितोका कारण प्रभावित ऋणीहरूको कर्जामा लाग्ने ब्याज भने मिनाहा गरेको जनाएको छ।

प्रतिक्रिया