उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर र राप्रपाकी लामाको उम्मेदवारी दर्ता

उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर र राप्रपाकी लामाको उम्मेदवारी दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०८२
  • 1.8K
    Shares

पोखरा , २६ चैत २०८२।

प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।

लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् भने ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिने छ ।

सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था संविधानमा रहेको छ ।

गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया