पोखरा , २५ चैत २०८२।
पोखरा अन्तर्राष्ट्रिय विमानास्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशमा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधिलगायतलाई थुनामै राखेर पुर्पक्ष गर्न मागसहित अख्तियारले मंगलबार (चैत २४) निवेदन दिएको हो । अख्तियारले आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाडिएको भन्दै बदर गरी थुनामा राख्न माग गरेको छ ।
मुख्य आरोपितमध्ये निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधि रबिन रिजाललाई २५ लाख रुपैयाँ, प्रतिवादी रतीशचन्द्र लाल सुमनलाई ५ लाख र भीमप्रसाद आचार्यलाई २ लाख ५० हजार रुपैयाँ न्यून धरौटीमा छाडिएको भन्दै अख्तियारले आदेश उल्ट्याएर थुनामा राख्न माग गरेको छ । साधारण तारिखमा छाडिएका प्रतिवादीहरू डा. पुण्यराज शाक्य, हरिबहादुर खड्का र रोशन चित्रकारलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग छ ।