पोखरा , २४ चैत २०८२।
नेपाल सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।
त्यस्तै, श्रीलंकाका लागि नियुक्त डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ । उनीहरूलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
अब १७ देशका दूतावास राजदूतविहीन भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार रिक्त पदमा चाँडै राजदूत नियुक्ति गर्ने तयारी छ । फिर्ता बोलाइएका राजदूतलाई एक महिनाको समय दिइएको छ ।
चुनावपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई मार्गप्रशस्त गर्न भने पनि राजदूतहरूले राजीनामा दिएका थिएनन् । उनीहरूले राजीनामा नदिएपछि सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।