पोखरा , २२ चैत २०८२।
करीब एक वर्ष अघि हत्कडीसहित काठमाण्डौको ठमेल बजार घुमाइएका गुण्डा ‘सानुभाइ’ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन् ।
पटक-पटक पक्राउ पर्दै छुट्दै आएका गुरुङ यस पटक फेरि गुण्डागर्दीको आरोपमा पक्राउ परेको एसएसपी रमेश थापाले जानकारी दिए ।
कुनै समय कुमार घैंटे समूहमा सक्रिय गुरुङ बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्ने र हतियार बोक्ने गर्थे। २०६७ देखि हालसम्म ज्यान मार्ने उद्योग, बैंकिङ कसूर र कुटपिटका दर्जनौँ मुद्दा खेपिसकेका उनी पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। पछिल्लो समय २०८२ साउनमा पनि उनी झगडाकै आरोपमा पक्राउ परेका थिए।
अभियुक्त गुरुङ २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए र त्यति बेला गुरुङलाई सबक सिकाउन प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।