‘कार्यबाहक अध्यक्ष थापाको प्रतिनिधिसभाको अभिव्यक्ति त्रुटिपूर्ण’ भन्दै एमाले सचिवालय बैठकले सच्यायो

‘कार्यबाहक अध्यक्ष थापाको प्रतिनिधिसभाको अभिव्यक्ति त्रुटिपूर्ण’ भन्दै एमाले सचिवालय बैठकले सच्यायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , २१ चैत २०८२।

नेकपा एमालेको सचिवालय बैठकले चालू प्रतिनिधि सभाको प्रथम बैठकमा कार्यबाहक अध्य्क्ष रामबहादुर थापा ‘बादल’ले गएको फागुन २१ गतेको चुनाबी परिणाम बारे दिएको अभिव्यक्ति त्रुटिपूर्ण’ भएको ठहर गर्दै सच्याउने निर्णय गरेको छ।

उक्त बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति बारे गम्भीरतापूर्वक छलफल गर्दा त्रुटिपूर्ण भएको ठहर गर्दै सच्याएर अघि बढ्ने निर्णय गरेको हो।

सोहि बैठकले सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने स्पष्ट पारेको छ।

बादलको सम्बोधनमा गत भदौ २३ र २४ गतेको घटना तथा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयलाई ‘तिलस्मी’ बताउँदै यसमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपाली सेना, कर्मचारीलगायतको भूमिकामाथि प्रश्न उठाइएको थियो। त्यसप्रति एमालेकै शीर्ष नेताहरूले आपत्ति जनाएका थिए। 

शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीमा निर्वाचित बालेन्द्र शाहसहित सबै जनप्रतिनिधिप्रति बधाई ज्ञापन गरिएको छ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।’

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया