आर्थिक वृद्धिदर बढाउने, भूकम्पपछिको पुनर्निर्माण, नवनिर्माणलाई प्राथमिकता दिने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
व्यवस्थापिका संसद्को बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । भूकम्पपछिको पुनर्निर्माण, नवनिर्माणलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजना निर्माणलाई प्राथमिकता दिन आवश्यक साधन स्रोत सम्पन्न गराउने सरकारको नीति छ । निर्वाचन आचारसंहितालाई ख्याल गर्दै बजेट निर्माण गर्ने, बजेट खर्च बढाउनेतर्फ ध्यान दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।
योजना, परियोजना समयमै सम्पन्न गराउन अनुगमनको व्यवस्था गरेर जवाफदेही बनाउने, पुनर्निर्माणमा स्थानीयको सहभागिता गराउने, प्रदेश र स्थानीय तहमा सार्वजनिक खरिदलाई व्यवस्थित गर्ने, स्थानीय तहको विकासका लागि जनशक्ति बढाइने, प्रदेश निर्वाचनपछि त्यहाँ आवश्यक साधन स्रोत, मानव जनशक्तिको पनि पूर्ति गर्ने सरकारले नीति लिएको छ । सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई तीव्रता दिने, आगामी आर्थिक वर्षमा शान्ति प्रक्रियाको काम पूरा गर्ने, त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगलाई साधन, स्रोत सम्पन्न गराउने योजना रहेको पनि बताएको छ ।
त्यस्तै, वैदेशिक लगानी बढाउँदै, निर्यात वृद्धि गर्ने, उर्जा संकट आउन नदिन जलविदुत् आयोजनाहरुको निर्माणलाई निरन्तरता र तिव्रता, निजी क्षेत्रलाई विद्युत् उत्पादनमा आकर्षित गरिने छ । वैकल्पिक उर्जामा जोड दिँदै विद्युत् चुहावट नियन्त्रणलाई पनि प्राथमिकता दिने सरकारले जनाएको छ । काठमाडौंमा निजगढ फास्ट ट्रयाक, हुलाकीमार्ग, पूर्व–पश्चिम रेलमाग लगायतको निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने छ ।
सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै लोपोन्मुख समुदाय, दलितका लागि आवासीय कार्यक्रम र आदिवासी जनजाति समुदायको उत्थानका कार्यक्रम निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।