पोखरा , १८ चैत २०८२।
बीपी राजमार्गमा अर्को सुचना जारी नभएसम्मका लागि सवारी आवागन बन्द गरिएको छ।
अधिक वर्षा भैरहेको र रोशी खोलामा पानीको सतह बढ्न गएको हुँदा सम्भावित जोखिमलाई मध्य नजर गर्दै तत्कालका लागि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्डमा हुने सम्पूर्ण किसिमको आवागमनलाई बन्द गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
‘लगातार परेको वर्षाले रोशी खोलाको जलस्तर उच्च रूपमा बढेको र बाढी आउने सम्भावनाका कारण तत्कालको लागि बीपी राजमार्गको काभ्रे तर्फको सडकखण्ड बन्द गरिएको छ,’ एसपी शाहले भने ।
सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि सर्वसाधारणले १०० (नेपाल प्रहरी) र १०३ (ट्राफिक प्रहरी) मा सम्पर्क गर्न सक्नेछन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।
छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताउनुभयो । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ ।
यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।
शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो ।