पोखरा , १७ चैत २०८२।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार सम्हाल्ने भएकी छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश पाउने भए पछि वरिष्ठतम न्यायाधीश मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको रुपमा आफ्नो कार्यभार सम्हाल्ने भएकी हुन्। सुशीला कार्कीपछि न्यायपालिकाको नेतृत्व गर्ने मल्ल नेपालको दोस्रो महिला न्यायाधीश हुन्।
संवैधानिक परिषद् अपूर्ण रहेकाले तत्काल स्थायी नियुक्ति प्रक्रिया अघि बढ्न नसके पनि मल्लले नै कामु प्रधानन्यायाधीशका रूपमा नेतृत्व प्रदान गर्नेछिन्। २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी मल्लले स्थायी प्रधानन्यायाधीश बनेमा २०८५ कात्तिकसम्म झण्डै तीन वर्ष न्यायालयको नेतृत्व गर्नेछिन्।
नयाँ संसद्बाट सभामुख, उपसभामुख र विपक्षी दलको नेता चयन नभएसम्म उनी कामु प्रधानन्यायाधीशकै भूमिकामा रहनेछिन्। नयाँ संसदले सभामुख, उपसभामुख र विपक्षी दलको नेता चयन गरेपछि मात्र नयाँ प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया शुरु हुनेछ।