पोखरा , १६ चैत २०८२।
एक हजार रुपियाँ दरका नक्कली नोट कारोबार गरेको आरोपमा बागलुङमा एक जना कानून ब्यबसायी पक्राउ परेका छन्।
बागलुङबजारस्थित एक मेडिकल पसलमा औषधि किन्न दिएको एक हजार रुपियाँ दरको नोट नक्कली जस्तो देखिए पछि अधिवक्ता यामबहादुर चर्माकारलाई प्रहरीले पक्राउ गरेको हो।
बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंक लगायतका बैंकमा एक हजार रुपियाँका झ ७९१६९०३३ नम्बरको एउटै नम्बरका नोट फेला परेको र त्यस वारेमा प्रहरीलाई समेत जनाकारी गराइएको नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।
अधिवक्ता यामबहादुर चर्माकारले औषधि किन्न दिएको नोट पनि त्यही नम्बरको देखिएको र उनलाई नियन्त्रणमा लिएर खानतलाशी गर्दा त्यही नमबरको थप १६ वटा नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
अभियुक्त चर्माकारबिरुद्ध सोमबार जिल्ला अदालत बागलुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि प्रहरीले बताएको छ।
नक्कली नोट कहाँ छापियो र चर्माकारसँग कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। बागलुङ बजारमा १८ वटाभन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका थिए।