पोखरा , १५ चैत २०८२।
नेकपा एमालेकी नेतृ एबम लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ परेकी छिन्।
घरमा काम गर्ने बालिकाको बालश्रम शोषण गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति शर्मालाई धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।
एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मामाथि दाङ जिल्ला निवासी एक बालिकालाई ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भन्दै बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएकाे थियो ।
प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यस अघि तत्कालिन अवस्थामा नेतृ शर्मा विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पीडितसँग माफी मागेका थिए ।
सरकारी वकिल कार्यालयले यो विषमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका थिए । ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, बालेनले फेसबुकमा भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’