पोखरा , १४ चैत २०८२।
जेन जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भोली आइतबार अदालत पेश गरिने भएको छ ।
आज शनिबार अदालत बिदा हुने भएकाले आइतबार सरकारी कार्यालय खुले लगत्तै अदालतमा उपस्थित गराउने गरी आज उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्ने छ।
एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । पक्राउ लगत्तै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइए पनि अब २ नम्बर गणमै राखिन लागेको जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जरुरी पक्राउ पुर्जी जारी गर्दै आज बिहानै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री ओली र रमेश लेखकलाई गिरफ्तार गरेको थियो ।
ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ लेखकको हकमा पनि यही भाषा लेखिएको बताइएको छ ।
जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो । सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ ।
गौरी आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा कारबाही गर्न सिफारिस गरिएको छ ।
आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न भनेको छ ।
एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।
प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर भएका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएकाे छ।
शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्याइएको हो।