पोखरा , १४ चैत २०८२।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली 'जरुरी पक्राउ पुर्जी' लिएर ओली निबास गुन्डु पुगेको छ।
प्रम बालेन शाहको नेतृत्वमा नवगठित मन्त्रीमण्डलको पहिलो निर्णय बमोजिम ओलीलाई पक्राउ गर्न ओली निवास गुन्डु अगाडी बाक्लो संख्यामा प्रहरी परिचालन भैरहेको अवस्थामा उनलाई पक्राउ गर्न जरुरी पक्राउ पुर्जी' लिएर प्रहरी टोली ओली निबास गुन्डु पुगेको हो ।
पार्टी अध्यक्ष ओली पक्राउ गर्ने खबरसंगै भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको ओली निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीले जानकारी दिइन्। नेत्री झाँक्रीका अनुसार , ओली अघि २ बजेतिरमात्रै सुतेका छन्।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।
मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।
मध्यरातसम्म भएको छलफलपछि सहमति नभएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी हेडक्वार्टर बोलाइएको थियो । उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओलीलाई नियन्त्रणमा लिएको हो ।
मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो । उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।