पोखरा , १४ चैत २०८२।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम पनि बनाएका छन्।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्।
जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार मानिन्छन्।
काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले बालेनलाई साथ दिँदै आएका छन्। उनी निरन्तर सल्लाहकार बनेर बालेनलाई सघाउँदै आएका छन्। बेनसँग हरेक रणनीति बनाउने कौशल भएकाले बालेनले निकै विश्वास गर्ने पात्रमध्ये उनी एक जना रहेको निकटस्थहरू बताउँछन्।
यस्तै, प्रधानमन्त्री बालेनको राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। असिमले रवि लामिछाने जेलबाट छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग बालेन समूहको एकता गराउन भूमिका खेलेका थिए।
रास्वपा सभापति लामिछाने र बालेनलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए। असिमको समेत पहलमा मध्यरातसम्म छलफल गरेर रवि र बालेनबीच सात बुँदे सहमति भएको थियो। जुन सहमति बालेन प्रधानमन्त्री बन्ने प्रस्थान विन्दु मानिन्छ।
त्यही सहमतिका आधारमा बालेन समूहले रास्वपासँग एकता गरेको थियो। रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा होमिएको थियो। असिम अघिल्लो पटक रास्वपाबाट समानुपातिक सांसद थिए।
प्रतिनिधि सभाको निर्वाचनमा असिमलाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उठाउने तयारी भएको थियो। तर अन्तिम सयममा उनी पछि हटेका थिए। त्यस क्षेत्रमा बालेनकै टिमका सस्मित पोखरेललाई उम्मेदवार बनाइएको थियो।
यसैगरी, प्रधानमन्त्री बालेनको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।
सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्। प्रधानमन्त्रीको टिमका एक सदस्यका अनुसार बाँकी सल्लाहकार केही दिनमै नियुक्त गर्ने तयारी छ।
यस्तै, अर्जुन घिमिरे, भूपदेव शाह, मेयर हुँदा सचिवालयमा रहेका सुरेन्द्र बजगाईंलगायत मिडियाको टोली प्रधानमन्त्री शाहसँगै निरन्तरत छ। उनीहरूको जिम्मेवारी बारेमा आइतबारसम्म निर्णय हुने जनाइएको छ।
यसैगरी, प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। परियार केही दिनदेखि शाहको लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए। शाह काठमाडौँ महानगरको मेयर हुँदा परियारले केही समय प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ।
प्रधानमन्त्री शाह शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका छन्।