पोखरा , १३ चैत २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्री बन्दैछन्।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रुपमा शाह आज देशको ४३औँ प्रधानमन्त्री बन्न लागेका हुन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा झण्डै दुईतिहाइ अर्थात एकसय ८२ सिटमा जितेको छ।
रकार बनाउन एक सय ३८ (बहुमत) सिट भए पुग्छ । रास्वपालाई स्वतन्त्र सांसद महावीर पुनले समेत समर्थन गर्ने सम्भावना छ । श्रमिक संस्कृति पार्टीका अध्यक्ष एबम संसदीय दलका नेता हर्क साम्पाङ्ग राई र राष्ट्रिय पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन सरकारले गर्ने कामको मुल्यांकन गरेर गुण र दोषका आधारमा सहयोग र समर्थंन गर्ने घोषणा गरिसकेका छन्।
बालेन गत चुनावअघि मात्रै काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर झापा ५ बाट चुनाब लडेका थिए। रास्वापाको तर्फबाट उनले ठुलो मतान्तरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए। झापा–५ मा जनताले बालेनको आँटलाई सम्मान गर्दै इतिहासकै सर्वाधिक ६८ हजार तीनसय ४८ मत दिएर विजयी गराउँदा ओलीले जम्मा १८ हजार सातसय ३४ मत मात्र प्राप्त गरेका थिए । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेको थियो, जसलाई मतदाताले समेत अनुमोदन गरेका छन् ।
बालेन व्यक्तिका आधारमा (एकै व्यक्ति एकभन्दा बढी कार्यकाल भएको छोडेर) मुलुकको ४३औँ प्रधानमन्त्री बन्न लागेका छन् । नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरु भएको मानिएको छ । मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमा मूलकाजी भई सशक्त एकलौटी शासन चलाएका थिए ।
दामोदरको मृत्युपश्चात् भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए । थापा विसं १८६३ देखि १८९४ सम्म (झण्डै ३१ वर्ष) मुख्तियार भई शासनसत्ता सञ्चालन गरेका थिए । त्यसपछिका सबै प्रधानमन्त्रीलाई मुख्तियार भनियो । प्राइम मिनिस्टर (प्रधानमन्त्री) भनी सम्बोधन गरिएको तथा पहिलोपटक प्रधानमन्त्रीको श्रीपेच लगाउने माथवरसिंह थापा हो । उनलाई नै नेपालको आधिकारिक प्रधानमन्त्री मानिने इतिहासविद्हरू बताउँछन् । यद्यपि, यसबारे सबैको एकमत छैन ।
गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनले यसअघिको शक्तिशाली सरकार ढालेपछि पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको थियो । आन्दोलनले नेपाली कांग्रेस र नेकपा (एमाले)को शक्तिशाली संयुक्त सरकार ढलेको थियो । आन्दोलनका क्रममा भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर भाग्नुपरेको थियो ।