धनुष सहकारी रकम हिनामिना प्रकरण : सचिव सुबेदी र ब्यबस्थापक पौडेल पनि पक्राउ

धनुष सहकारी रकम हिनामिना प्रकरण : सचिव सुबेदी र ब्यबस्थापक पौडेल पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा , १० चैत २०८२।

 पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले थप दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी र व्यवस्थापक जगत पौडेल रहेका छन् । सहकारीका ऋण उपसमितिका सदस्य कृष्णप्रसाद जैसी पनि सोमबार नै पक्राउ परेका थिए ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । प्रतिवेदन अनुसार सचिव सुवेदीले दुई करोड २५ लाख र व्यवस्थापक पौडेलले एककरोड २५ लाख रुपैयाँ अपचलन गरेका छन् । यस्तै जैसीले कृत्रिम खाता खडा गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको बताए ।

सहकारी रजिस्ट्रारको कार्यालयले धनुष सहकारीमा भएको अपचलनमा १३ जनाको संलग्नता देखाएको छ । कार्यालयले आइतबार प्रारम्भिक प्रतिवेदन प्रहरीलाई बुझाएको थियो ।

१५ महिनाअघि गरिएको छानबिनमा १९ करोड १८ लाख रुपैयाँ अनियमितता भएको भेटिएको थियो । त्यसपछि केही हिसाब मिलान भए पनि हाल १२ करोड ५६ लाख रुपैयाँ बिगो कायम भएको छ । सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भेषराज रिजालले लामो समय दिँदा पनि हिसाब मिलान गर्न नसकेपछि व्यक्तिपिच्छे बिगो किटान गरी प्रहरीमा पठाएको बताए ।

पक्राउ परेका जैसी सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित पनि हुन् । उनीसहितको जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।

जैसीसहितको जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ । गत निर्वाचन प्रचारका बेला कास्की क्षेत्र नम्बर–३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई जैसीले छोराको विद्यालयको शुल्क तिर्न नसकेको भन्दै बिल दिएका थिए। सूर्यदर्शनमा पैसा डुबेका कारण शुल्क तिर्न नसकेको भन्दै उनले साङ्केतिक रूपमा न्याय माग गरेका थिए ।

प्रतिक्रिया