पोखरा , १० चैत २०८२।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने अब कास्की जिल्ला अदालतमा तारेख लिन आउन नपर्ने भएको छ ।
कास्की जिल्ला अदालतको आदेशअनुसार २०८१ साल पुष २५ गते ६५ लाख धरौटी बुझाएर तारेखमा छुटेका लामिछानेले त्यसपछि व्यक्तिगत रूपमा अदालतमा नियमित तारेख धाइरहेका थिए। अदालतको मंगलबारको आदेशसँगै प्रत्येक महिनामा कम्तीमा एकपटक अदालतमा आफैँ उपस्थित हुनुपर्ने अवस्था रहेकोमा लामिछानेलाई अब त्यो भने नपर्ने भएको छ ।
लामिछानेले आइतबार अर्थात् चैत ८गते व्यक्तिगत रूपमा हाजिर भएर तारेखमा नबस्ने अनुमति पाउन भनी कास्की जिल्ला अदातलमा निवेदन दिएका थिए । लामिछानेले दिएको निवेदनउपर मंगलबार अदालतले सुनुवाइ गर्दै निवेदकको मागबमोजिम हुने आदेश दिएको हो ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेले माग गरेबमोजिम व्यक्तिगत रूपमा उपस्थित भएर नियमित रूपमा तारेक धाउन नपर्ने आदेश गरेकाे हाे ।
मंगलबारको आदेशसँगै लामिछानेलाई अब कास्की अदालतमा नियमित रूपमा तारेख धाउन अर्थात् लिन आउन नपर्ने भएको छ । तर, अदालतलाई आवश्यक पर्दा बोलाएको समय भने हाजिर हुनुपर्नेछ ।
लामिछानेविरुद्ध कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा विचाराधीन छ । लामिछानेले आफैँ उपस्थित भएर तारेक लिन नपर्ने भए पनि अदालती कामकारबाही भने नियमित रूपमा अघि बढ्नेछ ।