पोखरा , १० चैत २०८२।
भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको विवरण आएसँगै त्यसबारे अध्ययन थालिएको र उपयुक्त प्रतिक्रिया जनाइने नेपाल सरकारले बताएको छ।
शुक्रवार भारतको समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले पिथौरागढका डिस्ट्रिक्ट मजिस्ट्रेटलाई उद्धृत गर्दै केन्द्र सकारको निर्देशनपछि जुनदेखि सेप्टेम्बर महिनासम्म चल्ने व्यापार अघि बढाउन तयारी थालिएको जनाएको थियो।
नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले यस विषयमा आफूहरूले छलफल गरिरहेको भन्दै नेपाल सरकारले उपयुक्त प्रतिक्रिया जनाउने बीबीसीसँग बताएका छन्।
लिपुलेकलाई नेपाल र भारत दुवैले आफ्नो भूभाग दाबी गर्छन् र पछिल्ला वर्षहरूमा त्रिदेशीय सीमाविन्दुनजिकै अवस्थित उक्त स्थानलाई लिएर बेइजिङले लिएको नीतिप्रति पनि नेपालले असन्तुष्टि जनाउँदै आएको छ।
गत अगस्टमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका समयमा दुई देशले उक्त नाका हुँदै व्यापार पुन: सुरु गर्ने सहमति गरेपछि नेपालले लिपुलेक ‘आफ्नो अभिन्न भूभाग भएको’ भन्दै उक्त व्यापारिक मार्ग प्रयोगमा नल्याउन ध्यानाकर्षण गराएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका एक सदस्यले सीमा समस्या वार्ताबाट हल गर्ने पक्षमा आफ्नो दल रहेको भन्दै अहिले बाहिर आएका विवरणहरू ‘असत्य’ भएको देख्न आफूहरूले चाहेको प्रतिक्रिया दिएका छन्।