पोखरा , १० चैत २०८२।
रुसी सेनामा कार्यरत कञ्चनपुरका २३ वर्षीय दिनेश नायकको मृत्यु भएको पुष्टि भएको छ। मस्कोस्थित नेपाली दूतावासले नायकको निधन भएको पुष्टि गरेको हो।
दूतावासले भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका नायकको मृत्यु भएको पुष्टि गर्दै परिवारजनलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
दूतावासले कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा मृतकको दाहसंस्कार व्यवस्थापन तथा परिवारलाई बिमा र क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ। साथै, दूतावासले मृतकका परिवारलाई सम्पर्कमा आउन अनुरोध समेत गरेको छ।
प्राप्त विवरण अनुसार , २०८० असारमा अध्ययनका लागि भन्दै रुस गएका नायकले त्यहाँ पुगेको करिब दुई महिनापछि आफू रुसी सेनामा भर्ती भएको कुरा परिवारलाई बताएका थिए।
२०८० मंसिर १० गते नायकको घरपरिवारसँग अन्तिम पटक सम्पर्क भएको थियो। उनकी आमा कमला नायकले त्यसपछि कुनै खबर नआएको बताएकी छन्। यता बुवा कर्णसिंह नायक भने छोराको मृत्यु भएको खबरमा अझै विश्वास गर्न सकेका छैनन्।
परिवारले छोरालाई कैदीजस्तो अवस्थामा राखिएको हुन सक्ने आशंका गर्दै खोजीका लागि नेपाल सरकारसँग पहल गरिदिन अपिल गरेका थिए ।