प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार व्यवस्थापिका संसद्मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहे पनि शीर्ष दलको वालुवाटारमा क्षलफलका कारण ३ बजे सरेको हो। प्रधानमन्त्री दाहालका प्रेस संयोजक गोविन्द आचार्यले सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धिबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा आजै पदबाट राजीनामा दिने सम्भावना छ । यसबारे दाहालका प्रेस संयोजक आचार्यले भने, ‘सरकारले अहिलेसम्म गरेका गतिविधिबारे संसद्मा प्रधानमन्त्रीले जानकारी गराउँदै हुनुहुन्छ, आजै राजीनामा दिनुहुन्छ वा पछि भन्ने कुरा उहाँकै स्वविवेकीय अधिकार हो ।’
माओवादी केन्द्र हेडक्वार्टरको सोमबार बसेको बैठकले प्रधानमन्त्री दाहालले भोलि बुधबार मात्रै राजीनामा गर्ने निर्णय गरेको थियो । हेडक्वार्टर सदस्य मणि थापाले भने, ‘सोमबारको हेडक्वार्टर बैठकले भोलि मात्रै राजीनामा गर्ने निर्णय गरेको थियो तर प्रधानमन्त्री सम्बोधनकै क्रममा राजीनामा घोषणा गर्ने मनस्थितिमा पुग्नुभएको हुनसक्छ ।’
सरकार निर्माणका बेला नेपाली कांग्रेससँग भएको समझदारी अनुसार माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण गर्न लागेका हुन् । अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुअघि नै राजीनामा दिने या नदिने भन्नेबारे छलफल जारी राखेको बेला कांग्रेस नेताहरूले भने मंगलबार प्रधानमन्त्रीको राजीनामा आउने दाबी गरेका छन् । ‘अहिलेसम्म मंगलबार नै संसद्लाई सम्बोधन गरेपछि राजीनामा दिने कुरा भएको छ,’ कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने ।