पोखरा , २ चैत २०८२।
विशेष अदालतले नेपाली कांग्रेसका नेता सन्तोष चालिसेलाई पांच लाख रुपैयाँ धरौटी मागेको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइराको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी चालिसेलाई पांच लाख रुपैयाँ नगद धरौटी वा सो बराबर बैंक जमानत लिई तारिखमा मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो ।
यदी धरौटी वा बैंक जमानत बुझाउन नसकेमा थुना पुर्जी दिएर थुनामै राख्न इजलासले आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगले उनीविरुद्ध गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
पूर्वसांसदसमेत रहेका चालिसेविरुद्ध गोकर्णेश्वर नगरपालिकाको प्रमुख (०७४–०७९) हुँदा ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
(नेता चालिसेसँग पांच लाख रुपियाँ धरौटी माग भएको हुनुपर्नेमा भुलबस अन्यथा हुन गएकोमा क्षमा माग्दै सच्याएका छौं –सम्पादक )