पोखरा,३० फागुन २०८२।
नवनिर्वाचित सांसद बिना गुरुङलाई कार्यकर्ताको माखेसाङ्लो सुरक्षा
भोट माग्न नमस्कार गर्दै कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का जनताको घर - घर पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिना गुरुङ चुनाब जिते लगत्तै कार्यकर्ताको माखेसाङ्लो सुरक्षा मा जनताबाट भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि ब्यापक आलोचना शुरु भएको छ।
उक्त भाइरल भिडियोमा नवनिर्वाचित सांसद बिना गुरुङले हातमा उपहारस्वरुप पाएको फुल हातमा लिएकी छिन र उनलाई धेरै नै सुरक्षा खतरा भए झैं केही कार्यकर्ताले माखेसाङ्लोको घेरा हाल्दै अघि बढाएका छन्। हेर्दा दक्षिण भारतीय सिनेमाको दृश्य जस्तो मानिने उक्त भाइरल भिडियोमा केही मानिसले 'म्याडम' भनेर बोलाएको र उनी त्यही आवाज आएतिर फर्किएको तर कुनै प्रतिक्रिया नदिएको प्रष्ट देखिन्छ। कार्यकर्ताको माखेसाङ्लो घेराभित्र रहेकी उनले अगाडिका जनतालाई हात हल्लाएर अभिभादन गरेको पनि देखिएको छ।
उक्त भाइरल भिडियो प्रति कास्कीको माछापुच्छ्रे ७ का वडाध्यक्ष राम गुरुङले तिखो प्रतिक्रिया दिएका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा कास्कीको माछापुच्छ्रे ७ का वडाध्यक्ष राम गुरुङको प्रतिक्रिया दिंदै उक्त भिडियो सत्य नभई एआईले बनाएको भैदियोस भनेर कामना गरेका छन्। उनले आफ्नो स्टाटसमा “बिहानिले दिन देखाउँछ।” भन्दै "भिडियोमा भने माननीयज्यूलाई कुनै ठूलो सुरक्षा थ्रेट आएको जस्तै गरी दुई–चार जनाले घेरा हालेर अघि बढाइएको देखिन्छ। जनतासँग सहज रूपमा घुलमिल हुन नदिई सिधै केही व्यक्तिको घेराभित्र मात्र राखिएको दृश्यले अलि फरक सन्देश पनि दिन सक्छ।" भनेका छन्।
उनले अघि लेखेका छन्, "राजनीति भनेको अन्ततः जनतासँगको सम्बन्ध हो। जनता बीच सहज रूपमा पुग्ने, कुरा सुन्ने र आत्मीयता बाँड्ने संस्कारले नै नेतृत्वको वास्तविक पहिचान बनाउँछ। यदि सुरुवातमै यस्तै दूरी देखिने हो भने, राणा शैलीका नेताहरू र आफूलाई परिवर्तनकारी भन्ने नयाँ नेतृत्वबीच आखिर फरक के रहन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।"
वडाध्यक्ष गुरुङले 'यो दृश्य केवल एउटा क्षणको दृश्य मात्र होस्, वास्तविकता नहोश' भनेर कामना गरेका छन्। जनताको विश्वास जितेर आएको नेतृत्वले जनतासँग अझ नजिक भएर काम गर्ने अपेक्षा गर्दै उनले उक्त भिडियो वास्तवमै AI निर्मित रहेछ भन्ने तथ्य प्रमाणसहित fact check मार्फत जानकारी प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन्।
पोखराका पत्रकार युनिष गुरुङले पनि उक्त भाइरल भिडियो बारे आफ्नो प्रतिक्रिया जनाएका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै "चार हजारको फ्लाइट छुट्दा घाटा हुदैन Bina Gurung माननीयज्यू । जनताको मायाभन्दा महँगो कुनै फ्लाइट टिकट हुँदैन।" भनेका छन्।
उनले "चुनावताका एक भोटका लागि कति कुर्नुभयो? दैलो–दैलोमा पुगेर कति याचना गर्नुभयो? आज तिनै जनता तपाईंको दैलोमा आइपुग्दा नकुर्ने? भागी हिँड्ने?" भनेर संसद गुरुङसंग प्रश्न गरेका छन्।
उनले अघि लेखेका छन्,"अत्यावश्यक काम भए कार्यक्रममा उपस्थित नभई काठमाडौंतिर लाग्ने हो। होइन भने, चार हजारको फ्लाइट छुट्ने पिरले यत्रो नौटङ्गी गर्दा धेरै फरक पर्छ माननीयज्यू । धेरै फरक पर्छ ।"
उक्त भिडियो सामाजिक संजालमा भाइरल भएसंगै सांसद बिना गुरुङले शुक्रबार राती नै सामाजिक सञ्जालमा एउटा स्टाटस राखेर आफ्नो प्रतिरक्षा गरेकी छिन।
भाइरल भिडियो बारे सांसद बुना गुरुङले दिएको प्रतिक्रिया
सम्पूर्ण आमाबुवा दाजुभाइ दिदि बहिनीहरुमा म बिना गुरुङको हार्दिक नमस्कार।
अहिले मेरो एउटा भिडियो राम्रै भाइरल भएको छ जसमा ४-५ जना दाजुभाइहरुले घेरा हालेर कतै निकाल्दै हुनुहुन्छ।
त्यो दृश्य भन्दा अगाडी र पछाडी के के थियो भन्ने स्पष्ट नहुँदा "यिनी पनि महारानी नै टोपलियिन, कहिँ नभाको जात्रा, घन्टी स्टायल, चटक, कमेडी, झोले स्टायल, नौटंकी" यस्तै यस्तै कमेन्टहरु आएकाछन्। मैले यसलाई कत्ति पनि अस्वाभाविक ठानेको छैन। यस्तो अनावस्यक तामझाम कसैले पनि गर्नु हुदैन ।
त्यसो भए तिमीले किन गरेउ त? भन्नुहोला।
अव भएको के थियो भने …
अस्ति फाल्गुनको २७ गतेका दिन हाम्रो पार्टीको कास्की जिल्ला कमिटीले ह्वाइटहाउस पार्टी प्यालेस, सृजनाचोकमा कास्की क्षेत्र नम्वर १, २ र ३ का प्रतिनिधि सभाका नव निर्वाचित सदस्यहरुलाई शुभकामना तथा मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम दिनको ११ बजे आयोजना गरेको थियो। कार्यक्रम लगभग १२ बजेतिर सुरु भयो। त्यहि दिनको साँझ ४:५० बजे हामिले काठमाडौँ जानको लागि बुद्ध एयरको ओपन टिकट काटेका थियौं । कार्यक्रम संचालनको क्रममा पार्टी प्यालेसको हलमा स्पिकरले राम्रो काम गरेको थिएन। जसले गर्दा स्पिकर परिवर्तन गर्नु पर्यो। र पहिले बोलिसक्नु भएको नेताको भाषण बुझिएन भनेर गुनासो आएपछि पुर्व माननीय शिव नेपालि ज्युलाई पुन बोल्न लगाइयो । जसले गर्दा कार्यक्रम फेरी अलि ढिला हुन पुग्यो। कार्यक्रम लगभग २:१५ बजेतिर सकियो र नागरिकहरुबाट शुभकामना लिने प्रक्रिया सुरु भयो। फेरी यता वुद्ध एयरले मेरो श्रीमानलाई तपाइको फ्लाइट ३:४० मा सारियो तेसैले छिटो आउनुहोला भनेर खबर आए पछि हामि त्यसपछि शुभकामना लिने भीडबाट बिदा भएर बाहिर निस्कने तयारि गर्यौं। तर त्यहाँ शुभचिन्तकज्युहरुले खादा लगाइदिने र फोटो खिच्न चाहने भिड यत्ति बिघ्न भयो कि मैले वारम्वार माफ गर्नु मलाई ढिला भयो मैले निस्कनु पर्ने भयो भन्दै हतारिइरहेको थिएँ। पछि म भोलेण्टिअर मित्रहरुको साथमा बाहिर त निस्के तर बाहिर गाडीसम्म आउने क्रममा भिड त सकिएछ तर दाजुभाइहरुले मलाई घेरा भित्र नै लिएर आउनु भएको रहेछ जो भिडियो हेरेपछि मलाइ पनि सार्है अस्वाभाविक लाग्यो। अव मैले त्यो बेला कसैसंग सुरक्षा दिनुस भनेर अनुरोध गरेको पनि थिइन र जो दाजुभाइहरुले घेरा हाल्दै मलाई बाहिरसम्म लिएर आउनुभएको छ, र जहाँ मेरो भिडियो सुट भएको छ, वहाँहरु सबैलाई धेरै धेरै धन्यवाद छ तर मैले वहाँहरु कसैलाई पनि व्यक्तिगत रुपमा चिन्दिन।
अन्तमा, मैले हजुरहरुलाई निवेदन गर्नु पर्दा, यो भिडियोले मलाई त कत्ति पनि बिचलित बनाएको छैन। किनकि मेरो इच्छा र चाहनाले त्यसो भएको होइन, तर मेरो चिन्ताको विषय के भने, कास्की क्षेत्र नम्वर ३ बासि आमाबुवा दाजुभाइ दिदि बहिनीहरु जसले मलाइ विश्वास, आश र भरोसा गरेर आफ्नो प्रतिनिधि बनाएर हाम्रो लागि केहि गर्न सक्छ भनेर चुनेर पठाउनु भएको छ, वहाँहरुले यो भिडियो हेर्दा मनमा कत्रो ठेस लाग्यो होला।
समग्रमा, म जुन क्षेत्रबाट प्रतिनिधि बनेर आएको छु त्यो क्षेत्रको नागरिकको सुखदुखको सारथि बन्न, वहाँहरुको आँसु पुछ्न, त्यो क्षेत्रको समग्र विकाशका लागि पहरेदार बन्न आएको हुँ। भिडियोमा देखाएको जस्तो सुरक्षा र तामझाम मलाइ कहिल्यै आवस्यक छैन। म सधैं नागरिकको आवाज बोकेर हिंड्नेछु र मेरो सुरक्षा नागरिकले नै गर्नु हुनेछ भन्नेमा मेरो विश्वास छ र त्यसैमा म निश्चिन्त पनि छु।
पुन एक पटक म फेरी पनि प्रतिबद्दता जाहेर गर्न चाहन्छु कि "म बिना गुरुङ समग्र कास्की क्षेत्र नम्बर ३ का आदरणीय आमाबुवा दाजुभाइ दिदि बहिनीहरुको म प्रतिको यो विश्वासलाई एक रत्ति पनि डग्मगाउन दिने छैन ।”
धन्यवाद
जय देश, जय नागरिक, जय घन्टी।