जेनजी आन्दोलनमा सर्वोच्चमा भएको आगजनीको भिडियो बनाउनेसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जेनजी आन्दोलनमा सर्वोच्चमा भएको आगजनीको भिडियो बनाउनेसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 3.1K
    Shares

पोखरा,३० फागुन २०८२।

जेनजी आन्दोलनमा सर्वोच्च अदालतमा भएको आगजनीको भिडियो बनाउनेसहित पाँच जनाविरुद्ध मुद्दा अदालतमा मुद्दा दर्ता भएको छ।

गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा पांच जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा आपराधिक उपद्रव मुद्दा दायर भएको हो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) विपरीत र उपदफा (२) को खण्ड (क) बमोजिमको कसुर गरेको भन्दै उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्रमा आरोपितहरूमा ज्योति थापा घताने, सुशिल श्रेष्ठ (ब्राउन), एलेक्स भन्न्ने कुमार पराजुली, सम्राट भन्न्ने राजु परियार र विनोद कुमार थापा मगर रहेका छन्।

ज्योति थापा घतानेले सामाजिक सञ्जालमा ‘आज हामी सर्वोच्च अदालतभित्र छौँ, हामीले आगजनी गरेका छौँ, तानाशाही सरकार हेर, हामीलाई धेरै दमन गरिस्’ भन्दै भिडियो पोस्ट गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोप छ। उनले प्रहरी समक्षको बयानमा आफू आन्दोलनमा सहभागी भई सर्वोच्च अदालतको भवनभित्र प्रवेश गरेको स्वीकार गरेकी छन्।

सुशिल श्रेष्ठ (ब्राउन) र एलेक्स भन्ने कुमार पराजुलीले सर्वोच्च अदालतको परिसरमा प्रवेश गरी प्रहरीको ब्यारेकबाट हतियार लुटपाट गरेको र सो हतियार प्रदर्शनका क्रममा फायर पोजिसनमा लिएको दाबी अभियोगपत्रमा छ। उनीहरूले आफूहरूले तोडफोड र आगजनी नगरे पनि प्रदर्शनकारीलाई उत्तेजित बनाउन हतियार प्रदर्शन गरेको स्वीकारेका छन्।

सम्राट भन्ने राजु परियारमाथि सर्वोच्च अदालतको मुख्य गेटमा हतियार प्रदर्शन गरी भिडलाई उत्तेजित र आतंकित बनाएको तथा आगजनी र तोडफोडको घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप छ।

विनोद कुमार थापा मगरले सर्वोच्च अदालतभित्र प्रवेश गरी झ्यालबाट कागजातहरू बाहिर फालेको र तोडफोडमा संलग्न भएको देखिएको छ। त्यस्तै, प्रतिवादीमध्येका विष्णु ढुंगेलको हकमा भने हालसम्मको अनुसन्धानबाट कसुरमा संलग्न भएको पर्याप्त प्रमाण नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको छ। उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति हुन्।

जेनजी प्रदर्शनमा सर्वोच्च अदालतको मुख्य भवन र छापाखाना भवनमा तोडफोड तथा आगजनी गरेका थिए।

सरकारी वकिलको अभियोगपत्रअनुसार, उक्त घटनामा सर्वोच्च अदालतका भौतिक संरचना, इजलासहरू, चालु मुद्दाका मिसिलहरू, सूचना प्रविधि प्रणालीलगायतका सम्पत्ति पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

घटनामा प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएको नेपाली सेनाको पछुवा गाडी (बा २ झ १९६६) र जिल्ला न्यायाधीश सूर्यप्रसाद भण्डारीले प्रयोग गर्दै आएको निजी स्कुटर (ग ७ प २८४३) पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

यसबाहेक सरकारी र निजी सवारी साधन, प्रिन्टिङ र बाइन्डिङ मेसिन, र अदालतको सीसीटीभी निगरानी प्रणालीमा समेत क्षति पुगेको छ।

सरकारी वकिलले उक्त घटनाबाट १ अर्ब २३ करोड ६२ लाख ३८ हजार ५२ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै सोही बराबरको बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया