पोखरा,२८ फागुन २०८२।
नेकपा एमालेका केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ।
एमाले कास्की पार्टी कार्यालयमा आज आयोजित निर्वाचन क्षेत्र नम्बर १ को चुनाबी समिक्षा कार्यक्रममा सहभागी भैरहेका बेला नेता थापाको हृदयघातका कारण निधन भएको हो।
उक्त कार्यक्रममा आफ्नो मन्तब्य राखे लगत्तै कुर्सीमा बसेका थापा त्यहीँ ढलेका एमाले नेता केशब आचार्यले जानकारी दिए। कुर्सीमा ढलेका थापालाई तत्काल मणिपाल शिक्षण अस्पताल पोखरा पुर्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।
फागुन २१ गतेको चुनावका लागि एमालेले शुरुमा कास्की-२ बाट थापालाई टिकट दिएको थियो । तर पछि निर्णय सच्याएर अर्का युवा नेता रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो। आफ्नो स्थानमा अर्को नेतालाई उम्मेदवार बनाइएकोमा नेता थापाले सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरेका थिए। अद्यापि गएको उक्त चुनाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रुपमा बिजय हासिल गरेको थियो। उसले झन्डै दुई – तिहाइ बहुमत स्थानमा बिजय हासिल गरेको छ।
२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका थिए भने गण्डकी प्रदेश सभा सदस्य भएर काम पनि गरेका थिए। उनले गण्डकी प्रदेश सभा सदस्य पद त्यागेर २०७९ मा भएको स्थानीय पालिकाको चुनाबमा पोखरा महानगरपालिकाको मेयर पद लडेका थिए। तर पार्टीभित्रको अन्तरसंघर्षकाकारण उनी वर्तमान मेयर धनराज आचार्यसंग पराजित भएका थिए।