इरान आक्रमणमा यूएईमा १५ नेपाली घाइते

इरान आक्रमणमा यूएईमा १५ नेपाली घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 2.5K
    Shares

पोखरा,२८ फागुन २०८२।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानले गरेको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।

तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल–अमेरिका र इरानबीच आक्रमण–प्रत्याक्रमण भइरहेको छ ।

इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेशक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ । सोहि पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताए । ‘मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, त्यो दिन आउने छैन। विस्तारै जारी द्वन्द्व शान्तिमा परिणत हुँदै जानेछ,’ सञ्चारकर्मीको प्रश्नमा उनले भने। 

युएईमा इरानले गरेको ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया