पोखरा,२५ फागुन २०८२।
सर्वोच्च अदालतले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा उम्मेदवार खारेजसम्बन्धी निर्णयको फाइलसहित उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशन दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो।
रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको धनुषा १ मा आयोगले परिणाम सार्वजनिक गर्न रोक लगाएको थियो।
‘यसमा के कसो भएको होरु निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले ७ (सात) दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखितजवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू’ सर्वोच्चले भनेको छ।
सर्वोच्चले ‘विषयवस्तुको संवेदनशीलता र गाम्भीर्यतालाई विचार गर्दा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवनरी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएबाट सो प्रयोजनार्थ मिति २०८२।११।२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकी सो छलफल पेसीमा विपक्षी आयोगको मिति २०८२।११।१८ को निवेदकको उम्मेद्वारी खारेज गर्ने सम्बन्धी निर्णय सहितको फायल लिई आउनू भनी’ आदेश दिएको छ।
सो क्षेत्रमा रास्वपाका साहकै पक्षमा बढी मत आएको छ। तर, उनको उम्मेदवारी खारेज भएकोले नेकपाका मातृका प्रसाद यादवलाई विजयी घोषणा गर्नुपर्ने दबाब छ।
मतगणना सम्पन्न भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले उक्त निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भने हाललाई रोकिएको छ। अदालतबाट आउने आदेशपछि मात्रै औपचारिक रूपमा विजयी उम्मेदवार घोषणा गरिने बताइएको छ।