पोखरा,२४ फागुन २०८२।
निर्वाचनको मतगणना जारी रहंदा राष्ट्रिय स्वतन्त्र पार्टी झन्डै दुइ – तिहाईको नजिक पुगेको अवस्था रहेको छ। यस्तो अवस्थामा पांच वटा राजनीतिक दलहरुले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् भने हर्क साम्पाङ् राईको श्रम संस्कृति पार्टी थ्रेस होल्ड नजिक पुगेको छ।
समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट कटाउनुपर्छ ।
रास्वपा, कांग्रेस, एमाले अहिलेकै अवस्थामा राष्ट्रिय दल बनिसकेका छन् । अब गणना हुने ठाँउमा कुनै मत नपाएपछि उनीहरू राष्ट्रिय दल बन्नेछन् । किनभने उनीहरूले कुल खसकेको मतकै अनुपातमा तीन प्रतिशत कटाइसकेका छन् ।
नेकपाले अहिले करिब साढे ६ प्रतिशत मत पाइसकेको छ । तर अन्यत्र उसले कति मत पाउछ ? त्यसका आधारमा बाँकी अवस्था तय हुनेछ ।
करिब एक करोड १० लाख मत खसेको अनुमान गर्दा थ्रेसहोल्ड कटाउन ३ लाख भन्दा बढी मत पाउनुपर्ने देखिन्छ, नेकपाले अहिले एक लाख ६६ हजार मतमात्रै पाएको छ ।
राप्रपाले अहिले करिब साढे ३ प्रतिशत मत अर्थात ९१ हजार मतमात्रै पाएको छ । उसले राष्ट्रिय दलको मान्यता पाउन अहिलेको अनुपातलाई कायम राखेर बाँकी रहेका ठाँउमा मत ल्याउनुपर्छ । यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउन चाहिने प्रत्यक्षतर्फको एक सिट जितिसकेका छन् ।
राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्डको सीमा नजिक रहेको दल हो, श्रम संस्कृति पार्टी नेपाल । सुनसरी–१ बाट प्रतिस्पर्धा गरिरहेका अध्यक्ष हर्क साङ्पाङले अग्रता लिइरहेका छन् र मतगणना सकिने क्रममा छ ।
तर समानुपातिकका लागि भने उसलाई अहिलेको भन्दा बढी अनुपातको मत चाहिन्छ, किनभने अहिलेको आंकडा हेर्दा श्रम संस्कृति पार्टीले दुई प्रतिशत मतमात्रै पाएको छ ।