मुस्ताङ १३ फागुन २०८२।
आसन्न चुनाब भाँड्ने गतिबिधि गरेको भन्दै पक्राउ परेका कम्युनिष्ट नेता रिहा भएका छन् भने राजावादी ठानिएका दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेर हिरासतमा राखेको छ।
सर्वोच्च अदालतले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेल र राष्ट्र, राष्ट्रियता धर्म,संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले सबोच्च अदालतको आदेश बमोजिम मंगलबार साँझ कट्टेललाई हिरासतमुक्त गरेको छ ।
निर्वाचन विथोल्न प्रयास गर्ने आशंकाका आधारमा प्रहरीले कट्टेललाई फागुन ६ गते पक्राउ गरेको थियो । पक्राउविरुद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
यस्तै मंगलबार नै सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिट जारी गदै हिरासतमुक्त गर्न आदेश दिएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई भने प्रहरीले हिरासतमै राखेको छ ।
काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले प्रसाईँलाई आजै छाड्न नसकेको जनाएको छ । कार्यालय समय सकिइसकेकाले ती प्रक्रिया आजै पूरा गर्न नसकिएको प्रहरीले जनाएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईँलाई पनि निर्वाचन विथोल्ने प्रयास गर्नसक्ने भन्दै प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो ।