पोखरा, १० फागुन २०८२ ।
फेवातालमा डुंगा चलाउने पांच जना डुंगा चालक पक्राउ परेका छन्।
फेवातालमा लागू औषध र मादक पदार्थ सेवन गरेर डुंगा चलाएको आरोपमा फेवातालमा डुंगा चलाउने पांच जना डुंगा चालक पक्राउ परेका हुन्।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार गरेको विशेष चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित फेवातालमा डुंगा चलाइरहेका कुल ४५ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये चारजना चालकले लागुऔषध र एकजना चालकले मादक पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पर्यटकहरुको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले तालमै पुगेर चालकहरुको लापसे र मापसे जाँच गरिएको प्रहरीले दाबी गरेको छ ।
चेकजाँच तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्की आफैं उपस्थित थिए । पक्राउ परेका पांच जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले फेवातालमा व्यवसाय गर्ने सबै डुंगा चालकहरुलाई जिम्मेवार बन्न र सुरक्षा मापदण्ड पालना गर्न समेत सचेत गराएको छ । नशालु पदार्थ सेवन गरेर डुंगा चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि यस्ता छड्के चेकजाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।
==========================
मिति २०८२।११।०९ गते सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीज्यूको प्रमुख उपस्थितिमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित फेवातालमा संचालन रहेका डुङ्गा चालकहरुसंग अन्तरक्रिया गर्नु भएको र निजहरुले मादक पदार्थ सेवन गरे नगरेको तथा लागू औषध सेवन गरे नगरेको सम्बन्धमा ४५ जना डुङ्गा चालकहरुलाई चेकजाँच गर्दा निजहरु मध्ये ४ जना डुङ्गा चालकले ला.प.से. गरेको र १ जना डुङ्गा चालकले मा.प.से. गरेको पाईएकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको ।