पोखरा, ९ फागुन २०८२ ।
पशुपतिनाथ मन्दिर परिसरमा सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको चिम्टाले हानेर हत्या गरेको खुलेको छ। गिरीको हत्या आरोपमा पक्राउ परेका दुई जनाले त्यस्तो तथ्य खुलाएका हुन्।
गिरीको हत्या आरोपमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
गएको फागुन ६ गते शिवरात्रीको राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र गिरी मृतावस्थामा भेटिएका थिए। घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।