पोखरा, ९ फागुन २०८२ ।
चोरीको आरोपमा प्रहरीले पक्राउ गरेर छाडेका एक व्यक्ति पशुपति मन्दिर परिसरमा मृत भेटिएका छन्।
पशुपति क्षेत्रमै बस्ने र मागेर खाने काम गर्दै आएका संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी पशुपति मन्दिर परिसरमा मृत भेटिएका हुन्।
गिरि शिवरात्रीमा पशुपति आएका एक बाबाको मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई बाबाले नै समातेर प्रहरीमा बुझाएका थिए। तर प्रहरीले उनको साथबाट मोबाइल नभेट्टाएपछि गिरीलाई छोडिदिएको थियो । शिवरात्रीको भोलिपल्ट गिरी पशुपतिनाथको मन्दिर परिसरमा मृत भेटिएका थिए । मृतकको शरीरमा चोटपटक देखिएपछि घटना संकास्पद रहेको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
गिरीलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभर यातना दिएर हत्या गरेको हुनसक्ने प्रहरीको विश्लेषण गरेको छ । लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय नेपालमै बस्ने गरेको बताइएको छ । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् ।
मृत भेटिएका गिरीसँगै देखिएका ‘बाबा’ अहिले फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् । ‘बाबा’ को खोजी भइरहेको र मृतकको पोष्टमार्टम रिर्पोट आएपछि थप बताउन मिल्ने प्रहरीले जनाएको छ ।