पोखरा, ९ फागुन २०८२ ।
नेपाल प्रहरीले भर्ना गरेका एक जना निर्वाचन प्रहरीको बैतडीमा शुक्रबार मृत्यु भएको छ।
प्रतिनिधिसभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरी बैतडीको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिए।
प्रहरी प्रवक्ता सिंहका अनुसार, सदरमुकाम नजिक घर भएकाकारण निर्वाचन प्रहरी महादेव वड घरबाटै आउजाउ गरेर ड्युटी गर्दै आएका थिए। शुक्रबार दिउसो पनि ड्युटी सकेर घर खाना खान गएका निर्वाचन प्रहरी महादेव वड घरमै अचेत अवस्थामा भेटिएका थिए।
घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ। यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो।