चन्दा उठाउँदै गर्दा पोखराबाट दुई जना माओवादी नेता समातिए : पक्राउ परेका नेता बहुमतको कि माओवादीको?

चन्दा उठाउँदै गर्दा पोखराबाट दुई जना माओवादी नेता समातिए : पक्राउ परेका नेता बहुमतको कि माओवादीको?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 6.5K
    Shares

चन्दा उठाउँदै गर्दा पोखराबाट समातिएका माओवादी नेताका साथबाट बरामद सामाग्रीहरु

पोखरा, ५ फागुन २०८२।

पोखरा र आसपासका क्षेत्रहरुमा चन्दा असुली गर्ने कार्यमा संलग्न दुई जना माओवादीका नेताहरु पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा नेकपा माओवादीका केन्द्रीय सदस्य तनहुँको व्यास नगरपालिका १३ छाब्दी बस्ने ३२ वर्षीय लक्ष्मण पाण्डे ‘अग्नि’ र जिल्ला सेक्रेटरी कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुलाई विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुलाई फागुन ३ गते पक्राउ गरेको हो ।

प्रहरीले लक्ष्मण पाण्डे ‘अग्नि’लाई नेकपा बहुमतको केन्द्रीय सदस्य र भीमसेन परियारलाई सोही पार्टीको जिल्ला सेक्रेटरी भएको जिकिर गरेको छ। तर नेकपा बहुमतले भने यस बारेमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। प्रहरीले उनीहरुको साथबाट ‘सेक्रेटरी क. वृन्दा’को हस्ताक्षर भएको आर्थिक सहयोग सम्बन्धी २० थान पत्र, १५ थान खाली खाम र २३ हजार रुपैयाँ नगद बरामद भएको दाबी गरेको छ । तर ती ‘क. वृन्दा’ भन्ने व्यक्ति प्रहरीले पक्राउ गरेको भनिएका भीमसेन परियार हुन् कि हैनन् ? भन्ने बारेमा प्रहरीले स्पस्ट खुलाएको छैन।

प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा नै बिबादास्पद तथ्यहरु रहेका छन्। प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा उनीहरुलाई दुई वटा पार्टीको केन्द्रिय नेता भनिएको छ। प्रहरीले उनीहरुलाई नेकपा माओवादी र नेकपा बहुमतको नेता भनेको छ। जुन बिबादास्पद रहेको छ। नेकपा बहुमत धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको छ भने उनीसंगैबाट बिद्रोह गरेको अन्य कुनै समूहले नेकपा बहुमत नामकै अर्को पार्टी बनाएको हुनसक्ने अनुमान गर्न सकिन्छ।

नेकपा माओवादी को नाममा विभिन्न समूह सक्रिय रहेको देखिन्छ। बिप्लवको नेतृत्वमा रहेको नेकपा माओवादी निर्वाचन आयोगमा दर्ता भएर गुलाब चिन्हसहित आसन्न प्रतिनिधि सभा चुनाबमा होमिएको छ भने तनहुँ घर भएका अमृत सापकोटा ‘गौरब’ नेतृत्वमा अर्को नेकपा माओवादी सक्रिय छ। सोही पार्टीको नाममा महाबिर पुनले पनि आफ्नो समूह खडा गरेका समाचारस्रोतहरुले जनाएका छन्। तर ती महाबीर पुन हाल म्याग्दी जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षा मन्त्री बैज्ञानिक डा. महाबीर पुन नभएको पनि समाचारस्रोतहरुले जानकारी दिएका छन्।

जे होस्, उनीहरुबिरुद्ध आसन्न प्रतिनिधि सभा निर्वाचनलाई बिथोल्ने उद्देश्यले ‘माओवादी कार्यकर्ता’ भन्दै डर–धम्की देखाएर अवैध चन्दा संकलन गरेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीले उनीहरुको साथबाट चन्दा असुलीमा प्रयोग गरिएका विभिन्न सामग्री र नगद समेत बरामद गरेको छ । उनीहरुले भिरेको झोलाबाट ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गण्डक ब्युरो’ लेखिएको रसिदको ठेली भेटिएको छ । जसमा विभिन्न व्यक्ति र संघसंस्थाका नाममा काटिएका १५ थान अर्धकट्टी रहेको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरुको साथबाट सेक्रेटरी क. वृन्दाको हस्ताक्षर भएको आर्थिक सहयोग सम्बन्धी २० थान पत्र, १५ थान खाली खाम र २३ हजार रुपैयाँ नगद बरामद भएको छ । प्रहरीले उनीहरुबाट ‘जातवार्ता आहुति’ लेखिएको १ थान पुस्तक, २ थान डायरी र ३ थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका दुवैलाई चन्दा ऐन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । कास्की जिल्ला अदालतले उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । निर्वाचनको मुखमा चन्दाका नाममा चन्दा असुली र त्रास फैलाउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको उनले बताए ।

प्रतिक्रिया