पोखरा , ४ फागुन २०८२।
मादक पदार्थ रक्सी खाएर पोखरामा स्कुल बस चलाउने पांच जना ड्राइभर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आज बिहान पोखराका विभिन्न स्थानहरुमा गरेको सवारी साधनहरुको चेकिङ्गका क्रममा रक्सी खाएर स्कुल बस चलाइरहेका पांच जना ड्राइभरहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्त बहादुर गुरुङ रहेका छन् । यस्तै अंजली बोर्डिङका डम्बरबहादुर गुरुङ र एसओस बोर्डिङका चालक पदम विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।
कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकिङ सुरु गरेको थियो । पक्राउ परेका पाँचै जना स्कुल बस ड्राइभरहरुलाई आबश्यक कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।
पक्राउ परेका स्कुल बसका ड्राइभरहरु
1) माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३३ को आन्नद परियार ।
2) कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक जिल्ला कास्की
पोखरा म.न.पा. ५ प्रस्याङ बस्ने वर्ष ३७ को गौतम गुरुङ ।
3) बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक जिल्ला कास्की
पोखरा म.न.पा. १५ बस्ने वर्ष ४४ को भक्त बहादुर गुरुङ ।
4) अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक जिल्ला कास्की पोखरा
म.न.पा. १६ बस्ने वर्ष ४८ को डम्बर बहादुर गुरुङ ।
5) एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक जिल्ला कास्की पोखरा
म.न.पा. १० रामबजार बस्ने वर्ष ४७ को पदम बि.क. ।