पोखरा, २ फागुन २०८२।
ललितपुरमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति ९ बजेतिर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजारी गणेश थापा कालेश्वर मन्दिरका पुजारी रहेको र उनी मन्दिरमा त्रिशूल चढाउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पताल पुर्याउनासाथ डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।