पोखरा, १ फागुन २०८२।
म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नाउराबाट बेनीका लागि छुटेको ग १ च ७२२२ नम्बरको जिप बिहीबार दिउँसो करिब १:५० बजे जिल्लाको धौलागिरी गाउँपालिका–४, केराबारीमा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा छ जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका म्याग्दीकै धौलागिरी–४ निवासी ४० वर्षीया टिका घर्ती र अछामको तोरमखाँद–५ का २७ वर्षीय खगेन्द्र शाहीको आधारभूत स्वास्थ्य चौकी दरवाङमा उपचार भइरहेको छ।
शाहीको कम्मरमुनि, खुट्टा र मुखमा गम्भीर चोट लागेको छ। अन्य घाइतेहरूमा रौतहटका ३९ वर्षीय मनिराज लुङ्गेली (मध्यम), अछामका २० वर्षीय निरक शाही (मध्यम), पाँचथरका ३४ वर्षीय पालदिङ तामाङ र म्याग्दीका २२ वर्षीय छयन्द्र घर्ती रहेका छन्। उनीहरू सबैको अहिले आधारभूत स्वास्थ्य चौकी दरवाङमा उपचार भइरहेको छ।
चालक प्रहरी नियन्त्रणमा प्रहरीका अनुसार जिपमा चालकसहित कुल ७ जना सवार थिए। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले चालक ३७ वर्षीय नन्द बहादुर सुनारलाई नियन्त्रणमा लिएको छ।