पोखरा, २९ माघ २०८२।
चितवनमा आज एकाबिहानै स्कार्पियोले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ह २३८८ नम्बरको अटोलाई भित्री सडकबाट आउँदै गरेको बा.प्र. ०१–०२९ च १४१७ नम्बरको स्कार्पियोले आज बिहान करिब ४ बजे भरतपुर महानगरपालिका–७ प्रेमबस्ती स्कुलचोकमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन्।
उक्त दुर्घटनामा अटोमा सवार चितवन माडी नगरपालिका–७ निवासी ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्रीलाई तत्काल उपचारार्थ नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा चिकित्सकले बिहान ५ः०५ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिए।
सोही दुर्घटनामा घाइते भएका ७२ वर्षीया हरिकला खत्रीको दाहिने खुट्टा भाँचिएको छ भने ४५ वर्षीया अम्बिका जिसीको दाहिने खुट्टा र टाउकोमा भित्री चोट लागेको छ। २२ वर्षीय अमित खत्री क्षेत्रीको हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। अटो चालक भरतपुर–१२ निवासी ३३ वर्षीय सूर्य रिमालको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
दुर्घटनाका क्रममा सोही स्थानमा रहेको जनक गिरीको पूजा सामग्री पसलको सटरमा समेत ठक्कर लाग्दा क्षति पुगेको छ। दुवै सवारी साधनमा पनि क्षति भएको प्रहरीले जनाएको छ। स्कार्पियो चालक नवलपुर गैंडाकोट नगरपालिका–६ निवासी ३४ वर्षीय कृष्ण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षक सागर भुषालको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।