पोखरा, २९ माघ २०८२।
इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका प्रमुख प्रहरी निरिक्षक प्रदीप महत पक्राउ परेका छन् ।
प्रहरी निरिक्षक प्रदीप महतविरुद्ध एक ३७ वर्षीया महिलाले पदको दुरुपयोग गरी पटक-पटक आफ्नो यौन शोषण गरेको आरोपमा माघ २३ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका कारण उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरिक्षक महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
पीडित महिलाका अनुसार गत असोज १ गते आफ्नो समस्या लिएर कार्यालय पुग्दा महतले न्याय दिलाउने प्रलोभन देखाई कफी खान स्थानीय क्याफेमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेका थिए भने पछि सोही विषयमा उजुरी गर्न खोज्दा कार्यालयकै कार्यकक्षमा बोलाएर पुनः जबरजस्ती गर्नुका साथै कुटपिट समेत गरेका थिए ।
हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका महतका आफन्तबाट आफूलाई धम्की आइरहेको पीडितले गुनासो गरे पनि यसबारे जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारीहरूले भने आधिकारिक रूपमा केही खुलाएका छैनन् ।