तनहुँ २८ माघ २०८२।
पृथ्वीराजमार्ग सडक अन्तरगत तनहुँको शुक्लागण्डकी–२ दुलेगौंडामा मंगलबार सवारी दुर्घटनामा परि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।
घाइते हुनेमा व्यास नगरपालिकाकी उपप्रमुखकी छोरा व्यास–१ निवासी बर्ष २७ का हेमन्त दरै, कास्की पोखरा महानगरपालिका–.५ मालेपाटन बस्ने बर्ष ३८ का टयाक्सी चालक सन्देश गोले र मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने बर्ष १८ का समेश कुमार थापा रहेका छन् । टयाक्सीमा सवार तीन जना र मोटरसाइकलमा सवार एक जना घाइते भएका हुन् ।
गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।
डिएसपी विकका अनुसार, घाइते गोलेको टाउको, पेट र दायाँ खुट्टामा चोट लागेकाले अवस्था गम्भीर रहेको छ भने उपप्रमुख दरै,निजका छोरा र थापाको अवस्था मध्यम रहेको छ ।
जिल्लाको दुलेगौंडाबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०६४ प ०७८३ नंम्बरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको ग १ ज ४६६७ नंम्बरको टयाक्सी एक आपसमा ठक्कर खाई ट्याक्सी ब्याक हुँदा पोखराबाट दुलेगौंडा तर्फ आउँदै गरेको ध १ ज ६२४ नंम्बरको सामान बोक्ने भ्यानमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
मोटरसाइकल चालक र भ्यान चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।