पोखरा, २७ माघ २०८२।
सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्।
प्रहरी हवल्दार घर्तीको हत्या आरोपमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जानकारी दिए । सोही घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका ठानिएका अन्य चार जना फरार भएका छन् ।
फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् ।
पक्राउ परेकी दिपिका भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान् आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए ।
पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिए पनि त्यसबारे परीक्षणको काम भइरहेको जनाएको छ ।
एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनापछि फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।