पोखरा, २६ माघ २०८२।
नवलपुरको बाहुनी कुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिचाईको नहरमा बोरामा मृत भेटिएकी महिलाको हत्या आरोप लागेका दुई जना जेल चलान भएका छन्।
गत पुष २३ गते विहान यक्त नहरमा बोरामा पोको पारी फ्याँकिएको अवस्थामा भेटिएकी मध्यविन्दु १० निवासी ३५ बर्षीया रिता मुसहरको हत्या आरोपमा पक्राउ परेका दुई जना नवलपुर जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी नवलपुर जिल्ला कारागार चलान भएका हुन्।
जेल चलान भएकाहरुमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दी चुकाहा निवासी ३१ बर्षीय दिपक सुनार भन्ने विरबहादुर विक र भारतको विहार मधौलिया घर भई हाल मध्यविन्दु ११ अरुणखोला निवासी ४६ बर्षीय बहराम शाह रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए।
उनीहरुले रिता मुसहरको गत पुष २३ गते हत्या गरी उनका शव बोरामा पोका पारेर बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी कुसुन्डे सिचाईको नहरमा फालेका थिए ।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार विरबहादुरले उक्त महिलालाई शाह बस्दै आएको घरमा ल्याए पछि विकले चिर्पटले हानेर हत्या गरेका र शाहले बोरामा पोको पारेर फालेको वयान दिएको बताए । उनीहरुले हत्या किन र केका लागि गरेका हुन भनेर नखुलाएका उनले बताए ।
पोको पारेर फालिएको अवस्थामा भेटिएको महिलाको शरिरमा चोटपटक देखिए पछि प्रहरीले हत्या आशंकामा घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।
नवलपुर जिल्ला अदालतको आदेश अनुसार पक्राउ परेका दुवै जना कारागार चलान भएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।