ओखलढुङ्गाको बोहोरेमा वृद्ध राई दम्पतीको बिभत्स हत्यामा संलग्न दुई जना सार्वजनिक

ओखलढुङ्गाको बोहोरेमा वृद्ध राई दम्पतीको बिभत्स हत्यामा संलग्न दुई जना सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 7.2K
    Shares

पोखरा, २५ माघ २०८२।

ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा वृद्ध राई दम्पतीको बिभत्स हत्यामा संलग्न दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ।

गत माघ १२ गते राति अन्दाजी १० बजेको समयमा बोहोरेका करिब ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या गरेको आरोपमा काठमाण्डौबाट पक्राउ गरिएका दुई जनालाई आज ओखलढुंगामा सार्वजनिक गरिएको हो।

उक्त हत्याकाण्डमा संलग्न रहेको आरोपमा ओखलढुङ्गाकै साबिक भदौरे गाउँ विकास समिति वडा नं ४ निवासी ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक १७ वर्षीय बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित डेराकोठामा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी) को संयुक्त टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुको डेराकोठाबाट उक्त दिन राई दम्पत्तिको घरबाट लुटिएका मध्ये मृतक चन्द्रमाया राईले प्रयोग गर्ने सुनको मारवाडी एक जोर, सिक्री एक थान, चार थान सी माला र १२ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले बताएको छ।

यसैगरी  एनटिसी र एनसेलका गरी जम्मा एकसय ५९ थान रिचार्ज कार्ड, मृतकका दुई थान मोबाइल र अभियुक्तहरूले प्रयोग गरेका दुई थान मोबाइल समेतबरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान कोदालो समेत बरामद गरेको जनाएको छ।

​प्रहरीका अनुसार गत माघ १२ गते राति अन्दाजी १० बजेको समयमा करिब ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती ८० वर्षीय चन्द्र माया राईको आफ्नै घरमा हत्या भएको थियो। चन्द्र विक्रम राई घरको दोस्रो तलाको कोठामा र उनकी श्रीमती भुईँ तलामा मृत अवस्थामा फेला परेका थिए।

उनीहरूले गाउँका अन्य व्यक्तिले पहिचान गर्ने डरले रातको समयमा हत्या गरी सोही रात घटनास्थलबाट फरार भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए।

​हाल पक्राउ परेका दुवै अभियुक्तहरूलाई ओखलढुङ्गा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र डाँका चोरी  मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

प्रतिक्रिया