पोखरा, २५ माघ २०८२।
झापामा छोरीसँग प्रेम गर्न रोक्ने बुबाको सिरिन्ज प्रहार गरेर हत्या गरेको खुलेको छ।
भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको बिहीबार साँझ घाँटीमा सिरिन्ज प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहले छोरीसँग प्रेम गर्न रोक लगाएकाकारण आफुले ढकालको हत्या गरेको स्वीकार गरेका छन्।
सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले आफ्नै कलेजमा पढ्ने ढकालकी छोरी समेत रहेकी कनिष्ठ (जुनियर) छात्रालाई प्रेम प्रस्ताब गरेका थिए। तर। अवकाशप्राप्त शिक्षक समेत रहेका ढकालले उक्त कुरा अस्वीकार गरिदिए पछि सिंहले ढकाललाई निसाना बनाएका थिए।
सोही क्रममा डाक्टरी पढिरहेका बिद्यार्थी सिंहले बिहीबार साँझ भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलस्थित ढकालको घरमा पुगेर एनेस्थेसियामा प्रयोग हुने घातक औषधि भरिएको सिरिन्ज (सुई) प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ। शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने यो औषधिको उच्च मात्राका कारण ढकालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ।