पोखरा, २३ माघ २०८२।
पोखराका पत्रकारद्वय विष्णु सापकोटा र रामजी लम्साल प्रेस चौतारी पुरस्कारबाट सम्मानित भएका छन्।
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पत्रकारद्वय सापकोटा र लम्साललाई प्रेस चौतारी पुरस्कारबाट सम्मानित भएका हुन्। उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान-पत्र र दोसल्लासहित पुरस्कारबाट सम्मानित गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।