मनाङको तालमा ११ बर्षदेखि ९ किलोवाट विद्युत खेर गईरहेछ

मनाङको तालमा ११ बर्षदेखि ९ किलोवाट विद्युत खेर गईरहेछ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०७४
  • 12.4K
    Shares

मनाङ/ विश्वविख्यात चक्रीय अन्नपूर्ण पदयात्रा मार्ग अन्र्तगत मनाङको तालबजार नजिकै उत्पादित विद्युत मध्ये ९ किलोवाट विद्युत उपभोग नभई खेर गईरहेको छ ।

गाउँ नजिकैको छहरेखोला लघु जलविद्युत आयोजनाबाट उत्पादित २५ किलोवाट विद्युत मध्ये १६ प्रतिशत मात्रै उपभोक्ताले खपत गरेको र वाँकी ९ किलोवाट वरावर विद्युत खेर गईरहेको हो । उत्पादित विद्युतबाट तालबजार, शिरानताल र घेराङ गाउँका बासिन्दालाई करिव १६ किलोवाट मात्रै खपत हुने र अरु उपयोग विहीन हुँदै आएको उपभोक्ता समितिका सचिव सिंहबहादुर गुरुङले बताए । ०६४ सालदेखि स्थानीय छहरेझरनाबाट विद्युत उत्पादन गरेदेखि नै तालबजार, शिरानताल र घेराङ गाउँका बासिन्दालाई विद्युत अभावले कहिल्यै पनि अन्धकारमा बस्नु नपरेको उनी बताउँछन् । स्थायीमूलको पानी भएकाले हिउँद वर्खै छहरेखोलामा पानीको अभाव नहुने हुँदा स्थानीय आवश्यकता भन्दा वढी नै विद्युत उत्पादन भएको बताईएको छ ।

स्थानीय उपभोक्ताले विहान बेलुकी बत्ति बाल्ने, खाना बनाउने, रेडियो, टिभी चलाउने जस्ता काममा मात्रै विद्युत खपत गर्ने गरेका छन् । पर्यटन व्यवसायीहरु, विद्यालय र टेलिकम कार्यालयले कम्प्युटर, प्रिन्टर, फ्रिज, एयरकन्डिसनर, ग्रेण्डर मेशिन, वासिङ्ग मेशिन, कूलिङ्ग मेशिन जस्ता विद्युतीय सामाग्री प्रयोग गर्दै आएका छन् । गाउँमा ठूलो उद्योगधन्दा, कलकारखाना नभएका कारणले अत्याधिक मात्रामा विद्युत खपत हुन नसकेको लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष मनबहादुर गुरुङले बताए । उनका अनुसार तालबजारका ५६, शिरानताल र घेराङ २४ गरि कूल ८० घर परिवारले विद्युत उपभोग गर्दै आएका छन् ।

विकट ठाउँ भएकाले नजिकै वस्तीहरु नभएकाले सेवा क्षेत्र विस्तार गर्न पनि नसकिएको र सानो बजार भएकाले ठूला उद्योगधन्दा र कलकारखाना सञ्चालन गर्ने संभावना पनि नभएकाले एक दशकदेखि ९ किलो वाट विद्युत खेर गईरहेको अध्यक्ष गुरुङको भनाई छ । गाउँमै छेलोखेलो विद्युत उत्पादन गरिएकाले मर्मतसम्हार र प्राविधिक गडवढी भन्दा अरुवेला आफुहरु विद्युत अभावले अन्धकारमा रात विताउनु नपरेको तालकै बासिन्दा नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष राजन गुरुङ बताउँछन् । बेसीशहर देखि तालबजार हुँदै मनाङसम्मै सडक सुविधा पुगिसकेकाले तालबजारमा विद्युतवाट चलाउन सकिने साना तथा मझौला उद्योग सञ्चालन सकिने भएकाले स्थानीयमा त्यस्तो सोंच जागेको पनि उनी बताउँछन् । गाउँमै भएका स्रोतले साथ दिँदादिँदै तिनको अधिकतम प्रयोग गरेर आम्दानीका उपायहरु नखोज्नु स्थानीयको कमजोरी भएको भानु माविका सहायक प्रधानाध्यपक श्यामकृष्ण पन्त बताउँछन् ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको १९ लाख, जिल्ला विकास समितिको ३ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३ लाख र स्थानीय ५६ घरधुरीले ४१ दिन बराबरको श्रमदान गरि करिब ४५ लाख रुपैयाँको लगानीमा लघु जलविद्युत उत्पादन गरिएको समितिका सचिव गुरुङ बताउँछन् । उपभोक्तालाई न्युनतम १० युनिट वरावरको मासिक १ सय रुपैयाँ र त्यस माथि प्रतियुनिट १० रुपैयाँका दरले शुल्क भुक्तानी गर्दै आईएको उनी बताउँछन् । विद्युत खपतबाट मासिक करिव १७-१८ हजार रुपैयाँ उठ्ने र १५ हजार रुपैयाँ प्राविधिक खर्च हुने भएकाले केही मात्रै बचत हुने समितिले जनाएको छ । विशेषगरि मर्मत सम्हारमा खर्च हुने र त्यसमा पनि जेनेरेटरको फित्ता चुडिएको अवस्थामा ठूलो खर्च आउने पनि समितिको भनाई छ ।

प्रतिक्रिया