म्याग्दीमा प्रहरीले चलायो ‘ब्राभो शेरा’ अपरेशन : एक सय १५ थान बन्दुक बरामद

म्याग्दीमा प्रहरीले चलायो ‘ब्राभो शेरा’ अपरेशन : एक सय १५ थान बन्दुक बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 5.1K
    Shares

पोखरा, २० माघ २०८२।

म्याग्दीमा प्रहरीले गएको मंसिर १५ गर्तेदेखि ‘ब्राभो शेरा’ अपरेशन चलाइरहेको छ।

इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन गर्ने उद्देश्यले शुरु गरिएको उक्त अपरेशनलाई आसन्न चुनाबलाई समेत ध्यानमा दिएर तीब्रता दिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक (सिएस्पी)सूर्यबहादुर थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार , सोही क्रममा जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार रघुगङ्गा गाउँपालिका-५ पाखापानीस्थित झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । ती बन्दुक रातको समयमा जङ्गलमा राखेर चोरीशीकारीमा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ । बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको उक्त अपरेशन अन्तर्गत यसअघि एकसय १५ थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २०, धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको थियो ।

निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउनसक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

अवैध बन्दुक भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न प्रहरी नायब उपरीक्षक थापाले सबैलाई अनुरोध गरे । अवैध बन्दुकसहित फेला पारेमा पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ ।

प्रतिक्रिया