पोखरा , २० माघ २०८२।
रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार बस एकाबिहानै दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् ।
परासीबाट रुपन्देहीतर्फ़ विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे पाँच बजेतिर भैरहवा_परासी सडक खण्ड मा पर्ने ओमसतिया गाउंपालिका वार्ड नं ४ , टोल टैक्स नजिकै ट्याक्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त १० जना भन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।
बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी सापकोटाले बताए ।
बस र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।