पोल्याण्ड लैजाने प्रलोभन देखाएर पोखरामा ११ जना युवा ठगिए : आफुलाई कानून ब्यबसायी बताउने युवतीसहित दुई जना पोखराबाट पक्राउ

पोल्याण्ड लैजाने प्रलोभन देखाएर पोखरामा ११ जना युवा ठगिए : आफुलाई कानून ब्यबसायी बताउने युवतीसहित दुई जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 7.5K
    Shares

पोखरा, २० माघ २०८२।

युरोपियन मुलुक पोल्याण्ड लैजाने प्रलोभन देखाएर विभिन्न युवाहरुलाई ठगी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्।

पोल्याण्ड लैजाने प्रलोभन देखाएर विभिन्न युवाहरुलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका–११ घर भई हाल पोखरा–६ बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई पक्राउ गरेको हो।

पक्राउ परेकी कल्पना नहर्की पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कानुन व्यवसायी बताउँदै पोल्याण्ड पठाइदिन्छु भनेर लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले अभियोग लगाएको छ। श्रीमानले पोल्याण्डमा होटल चलाएको र त्यहीँ काम लगाइदिने प्रलोभन देखाएर अभियुक्त कल्पनाले विभिन्न व्यक्तिसँग १४ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीको जिकिर छ।

उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरी संगठित रूपमा ठगी धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपितहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितहरूसँग कुराकानी गर्ने गरेका थिए । कुराकानीका क्रममा नहर्कीले ‘म कानुन व्यवसायी हुँ, मेरो श्रीमानले पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहनुभएको छ’ भन्दै विश्वास दिलाउने गरेकी थिइन् । उनले विदेशस्थित आफ्नै होटल तथा अन्य विभिन्न कम्पनीमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक र म्यानेजरजस्ता पदमा नेपाली कामदारको माग भइरहेको भन्दै पीडितहरूलाई प्रलोभनमा पारेकी थिइन् ।

पोल्याण्डको आकर्षक रोजगारीको सपना देखाएर उनीहरूले ११ जना व्यक्तिबाट रकम असुलेको पाइएको छ । प्रहरीका अनुसार उनीहरूले पीडितहरूबाट जनही १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म उठाएका थिए । यसरी विभिन्न व्यक्तिबाट उनीहरूले कुल १४ लाख ६० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग गरी झुटो विवरण र आश्वासन दिएर रकम ठगी गरेको उजुरीका आधारमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ, अहिले सम्मानित अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।’

बिदेश पठाईदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी “आफू कानून व्यवसायी रहेको,
श्रीमान् पोल्याण्डमा होटल खोली संचालन गरिरहेको र हाल विदेशमा आफ्नो होटलमा
किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली
कामदारहरुको माग भई रहेको हुँदा बिदेश पठाईदिन्छु” भनी कुराकानी गरी विश्वास दिलाई
विभिन्न ११ जना व्यक्तिहरुबाट रु.१०,०००।– देखी रु.२,००,०००।– सम्म मागी जम्मा
रु.१४,६०,०००।– (चौध लाख साठ्ठी हजार) ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला
प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।०८ गते जिल्ला
कास्की पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की
पौडेल र सोही घटनामा संलग्न जिल्ला मुगु खप्तड गा.पा. वडा नं. ११ स्थायी वतन भई हाल
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ बस्ने वर्ष २८ को बिरेन्द्र रावतलाई पक्राउ गरी
सम्मानित कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ
(एक्टर्सन) मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको ।

प्रतिक्रिया