पोखरा , १७ माघ २०८२।
तनहुँको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाको सिमानामा पर्ने आँधीखोलामा ईभी माइक्रो दु’र्घटना हुँदा ६ जना घा’इते भएका छन्।
काठमाडौंबाट पोखरातर्फ आउदै गरेको बागमती प्रदेश ०१–००२ छ ८५१८ नम्बरको ईभी माइक्रो अ’नियन्त्रित भएर दु’र्घटनाग्रस्त हुँदा छ जना घाइते भएका हुन्।
उक्त दु’र्घटनामा घाइते भएका ६ जनामध्ये गम्भीर अवस्था रहेका दुई जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् ।
चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छ भने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर, चितवन रिफर गरिएको छ ।
मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी (सह–चालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बु रहेका छन् ।
उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सह–चालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पताल तनहुँमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।