पोखरा, १५ माघ २०८२।
स्याङ्जामा बैंकका सुरक्षा गार्ड माथि बैङ्क भित्रै चक्कु प्रहार भएको छ । विरुवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गरिमा विकास बैङ्क लिमिटेडको सुरक्षा गार्ड शेरबहादुर थापालाई बैङ्क परिसरमा नै चक्कु प्रहार भएको हो ।
प्रहरीले चक्कु प्रहार गर्ने विरुवा गाउँपालिका वडा नम्बर–१ बस्ने वर्ष ३० का महेन्द्र नारायण श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट घाइते भएका थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आफू माथि अन्धाधुन्ध चक्कु प्रहार भए पनि सेवा निवृत्त सेना भएका कारण जोगिन सफल भएको घाईते थापाको भनाइ छ ।
मङ्गलबार दिउँसोको घटना भए पनि बैङ्कले प्रहरीको सहयोगमा सेवा निरन्तर दिइरहेको गरिमा विकास बैङ्कमा क्षेत्रीय प्रबन्धक प्रेमकिसोर अर्यालले जानकारी दिए ।
श्रेष्ठमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।